समय अगावै जन्मिएको बच्चामा हुन सक्छ ‘आरओपी’ रोग

काठमाडौं । समय अगामै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ (आरओपी) रोगका बिरामी बढ्न थालेका छन् । पाटन अस्पतालमा समय अघि प्रसूति भइ जन्मिएका दैनिक सरदर १० बच्चामा आरओपी रोगको स्क्रिनिङ गरिँदै आएको आँखा रोग विशेषज्ञ डाक्टर पवन महतले बताए ।स्क्रिनिङ गरिएकामध्ये १० प्रतिशतमा आँखामा अन्धोपना ल्याउने आरओपी रोग पुष्टि हुने गरेको डा.महतले जानकारी दिए । प्रविधिको विकास भएसँगै समय अगावै अर्थात् ३४ हप्ताभन्दा अघि जन्मने र कम तौल हुने दर बढेकाले आरओपी रोगका बिरामी बढेको उनको अनुमान छ ।समय अगावै जन्मिएका बच्चालाई एनआईसीयू नर्सरीमा राख्नुपर्ने हुन्छ । डा. महत भन्छन्, ‘पछिल्लो समय नयाँ प्रविधिको विकासका कारण कम समयमै जन्मिएका बच्चालाई पनि बचाउन त सकिन्छ तर त्यस्ता कतिपय बच्चाको आँखामा आन्धोपना ल्याउने आरओपी रोग देखापर्ने गरेको छ ।’

आरओपी रोगबारे बुझाउनै समस्या

स्क्रिनिङका क्रममा बच्चामा अन्धोपन हुने आरओपी रोग पुष्टि भएको छ भन्दा हत्तपत्त अभिभावकले विश्वास नै नगर्ने डा. महत बताउँछन् । उनका अनुसार बच्चाको आँखा हेर्दा सामान्य जस्तै देखिन्छ तर, आँखामा गम्भीर समस्या सुरु भइसकेको हुन्छ । अभिभावकले विश्वास नमानेर फलोअपका लागि बेवास्ता गर्दा अन्धोपना निम्तिने उनले सुनाए ।‘बच्चाको आँखामा तीन महिनापछि सेतो दाग देखिन्छ अनि आउनु हुन्छ । त्यस्तो अवस्थामा चाहेर पनि उपचार सम्भव हुँदैन । बच्चाहरू बाँचुन्जेल अन्धो हुन बाध्य हुन्छन्,’ उनले भने ।

dr pawan mahat

अभिभावकलाई बच्चाको आँखाको अवस्था देखाउन मिल्ने गरी ‘फोरस न्यू एचडी’ मेसिन पाटन अस्पतालले ल्याएको उनले बताए । ‘यस मेसिनबाट एकैपटक आँखाको भागलाई ठूलो एरिया बनाएर हेर्न सकिन्छ । यसअघिको मेसिनले चिकित्सकले मात्र आरओपी रोग पहिचान गर्न सकिन्थ्यो,’ उनले भने, ‘अहिलेको नयाँ मेसिनले रोग पहिचानसँगै अवस्था कस्तो छ भनेर अभिभावकलाई पनि देखाउन सकिन्छ ।’ अभिभावकले नै बच्चाको आँखाको अवस्था राम्रोसँग देख्न र बुझ्न सक्ने प्रविधियुक्त मेसिन ल्याइएका कारण अब यो रोगको गम्भीरताबारे राम्रोसँग बुझाउन सकिने उनको विश्वास छ ।

किन हुन्छ आरओपी ?

समय अगामै जन्मिएका बच्चालाई बचाउन एनआईसीयूमा राख्दा अक्सिजन दिनुपर्छ । डा. महतका अनुसार त्यसबेला बच्चाको आँखाको पर्दा राम्रोसँग बनेको हुँदैन । आँखाको पर्दा सम्पूर्ण रुपमा नबनेको अवस्थामा लगातर अक्सिजन दिएर एक्कासी बन्द गरेपछि आँखामा नयाँ नसा पलाउन सुरु हुन्छ ।उनले भने, ‘नयाँ नसा अक्सिजन डिपेन्डेन्ट हुन्छ । अक्सिजन दिन छाडेपछि नयाँ नकारात्मक नसा पलाएर बच्चाको आँखाको पर्दा फाट्ने गर्छ ।’अक्सिजन दिन छाडेपछि आँखामा नकारात्मक प्रभाव परी नसा पलाएर आरओपी रोग जटिल बन्दै जाने उनले बताए ।

जबसम्म अभिभावकलाई समय अगावै जन्मिएका बच्चाको आँखामा आरओपी रोग लाग्छ भन्ने जानकारी हुँदैन, तबसम्म अन्धोपनाको दर बढ्न सक्ने डा. महत बताउँछन् ।
आरओपीबाट जोगिन के गर्ने ?

डा. महतका अनुसार एनआईसीयूमा बच्चा हुँदै आँखाको स्क्रिनिङ गर्नु पर्छ । आरओपी रोग देखिएकामध्ये धेरैको पहिलो चरणमै स्क्रिनिङ गर्दा थाहा हुने भएकाले त्यतिबेला सुइ र रेजरमार्फत उपचार गर्दा निको हुने गरेको उनले सुनाए ।पाटन अस्पतालमा एनआईसीयूमै आँखाको परीक्षण गरिने भएकाले सुरुवाती चरणमै रोग पहिचान हुँदा अप्रेशन र अन्धोपनाबाट बच्चाहरू जोगिएको उनको जिकिर छ । पछिल्लो समय पाटन अस्पतालमा बालरोग विशेषज्ञहरू आरओपी रोगबारे जानकार भएकाले बच्चालाई एनआईसीयूमा चाहिने मात्रामा अक्सिजन दिने गर्दा जोखिम केही कम भएको उनले बताए ।जबसम्म अभिभावकलाई समय अगावै जन्मिएका बच्चाको आँखामा आरओपी रोग लाग्छ भन्ने जानकारी हुँदैन, तबसम्म अन्धोपनाको दर बढ्न सक्ने डा. महत बताउँछन् ।

उनका अनुसार कम समयमा जन्मेको बच्चाको आँखा हेर्दा सामान्य देखिन्छ तर, आरओपी रोग लागेको थाहा हुँदैन । बच्चा तीन महिना हुँदासम्म आँखामा समस्या भएकोबारे अभिभावकले थाहा पाउँदैनन् ।त्यसपछि क्रमशः आँखाको नानीमा सेतो सेतो दाग देखिन्छ । आँखामा सेतो दाग देखिएर उपचारका लागि अस्पताल ल्याउँदा बच्चाको आँखामा पूर्णमा अन्धोपना आइसकेको हुने उनको भनाइ छ ।

कसरी पहिचान गर्ने ?

डा महतले ३४ हप्ताभन्दा कम समयमा जन्मिएमा वा कम तौल भएका बच्चा जन्मिएको २० दिनदेखि एक महिनाभित्र एक पटक आँखाको परीक्षण अनिवार्य रुपमा गराउनुपर्ने बताए ।‘जन्मिएको एक महिनाभित्र आँखा जाँच गर्नुपर्छ भन्ने जनचेतना व्यापक रुपमा फैलाउन जरुरी छ । समय अगावै जन्मिएका धेरै बच्चामा अन्धोपना आउन सक्छ,’ उनले भने ।समय अगावै जन्मिएका बच्चालाई हेर्ने बालरोग विशेषज्ञहरूले पनि अनिवार्य रुपमा चाँडो आँखा परीक्षण गर्न सुझाव दिन आवश्यक रहेको उनको भनाइ छ ।‘गर्भावस्था, कम तौल र समय अगाडि जन्मिएका बच्चालाई स्वास्थ्यकर्मीले अनिवार्य आँखा जाँच गर्नुपर्छ भनिदिए अभिभावक सचेत भएर धेरैभन्दा धेरैलाई अन्धोपनाबाट जोगाउन सकिन्छ,’ उनले भने ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...