PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS
9
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भुमिका रहेमा राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने उनको विश्वास छ । ‘महिलाहरूको धेरै ठूलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा । भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भुमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरूलाई ठाउँ दिइएको छ,’ ‘पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘त्यसले गर्दा महिलाहरूको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने कुरामा मलाई विश्वास छ ।’
उनले नेपाली कांग्रेसभित्र महिलाहरूमा अन्तरघातको रोग रहेको स्वीकारे । ‘महिलाहरूलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ । यसबाट मुक्त गराउनसके महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु,’ उनले भने ।
नेपाल पनि महिला राष्ट्रपति भइसकेको उल्लेख गर्दै सभापति देउवाले आफू योग्य बन्न आग्रह गरे । ‘अहिले संसारभर नै महिलाहरूको अधिकारका लागि महिलाहरूको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ,’ उनले भने, ‘नेपालमा पनि महिला राष्ट्रपति हुनुभएको छ । विद्या भण्डारीजी दुई पटक हुनुभएको छ । भोलिका दिनमा पनि यस्तै ठाउँहरू महिलाहरूले पाउनु हुनेछ । महिलाहरूले त्यस किसिमको योग्य र सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ ।’